गैरभन्सार अवरोध र नेपालको सरोकार विषयक अन्तरक्रिया |
|
वीरगंज, २ चैत्र/
वीरगंज उद्योग वाणिज्य संघ तथा साउथ एशिया वाच अन ट्रेड इकोनोमिक्स एण्ड इन्भ्यारोमेन्ट (सावती) को संयुक्त आयोजनामा क्षेत्रीय व्यापारका गैरभन्सार अवरोध र नेपालको सरोकार विषयक अन्तरक्रिया वीउवासंघको सभाकक्षमा सम्पन्न भएको छ ।
गैरभन्सार अवरोधको पहिचान तथा समाधानका उपायहरुको सुझाव संकलन गरि सम्बन्धित निकाय समक्ष राख्ने उद्देश्यले आयोजना गरिएको सो अन्तरक्रियामा वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सचिव पुरुषोत्तम ओझाले दक्षिण एशियाली राष्ट्रहरुमा विद्यमान गैरभन्सार अवरोधहरु अत्यधिक संख्यामा रहेका छन् जसको कारणले व्यापार घाटा बढ्नुका साथै आयात एवं निर्यातकर्ताहरुले पनि प्रत्यक्ष रुपमा ठूलो आर्थिक भार व्यहोरिरहेका छन् भन्ने कुराको जानकारी गराउनुभयो । अध्ययनहरुका अनुसार दक्षिण एशियाली क्षेत्रमा विद्यमान गैरभन्सार अवरोधहरु हटाउने हो भने दक्षिण एशियाली जनताको वार्षिक औषत एक अर्ब पन्ध्र करोड डलर खर्च जोगिन सक्छ भने नेपाली जनताको वार्षिक औसत ४२ लाख डलर जोगिन सक्दछ जुन यसको कुल आयातको ३५५ भएको कुरा जानकारी गराउनु भयो ।
नेपाली उद्यमी, व्यवसायी तथा आयात निर्यातकर्ताहरुले मुख्य रुपले आयात र निर्यात गर्दा सहज रुपमा बजार प्रवेशमा अवरोध, कोटा, लाइसेन्स, स्वदेश तथा विदेशमा हुने गरेका प्रशासनिक झमेला र प्रक्रियागत जटिलताहरुका कारण निर्वाध आयात र निर्यात व्यवसायमा अवरोध सृजना भइरहेको धारणा पूर्व सचिव श्री ओझाले राख्नुभयो । यस किसिमका अवरोधलाई निराकरण गर्न सम्बद्ध निकायमा प्रभावकारी पहलको आवश्यकता माथि समेत जोड दिनु भएको थियो ।
यसै गरि छलफलमा संघका अध्यक्ष अशोक कुमार वैद्यले आयात र निर्यात व्यवसायका क्षेत्रमा अनेकौं अप्ठ्याराहरु विद्यमान रहेका छन् । तेस्रो मुलुकबाट आयात गरिने वस्तुहरु कोलकाता पोर्टमा छिटो छरितो, प्रशासनिक कार्य नहुने गरेको कारण आयातकर्ताहरुले अनावश्यक आर्थिक व्यय भार व्यहोर्नु परिरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका पर्सा÷बारा चेप्टरका अध्यक्ष महेन्द्र बहादुर अमात्यले स्वदेशमा नै विद्यमान रहेका प्रशासनिक अवरोधहरुलाई निराकरण गरि नेपाली उत्पादनलाई प्रतिस्पर्धा बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।
खुला छलफलका क्रममा बढ्दो गैरभन्सार अवरोधलाई निराकरण गर्नुपर्ने धारणा सहभागीहरुले राखेका थिए । कार्यक्रममा औषधि उद्योग, चामल उद्योग, प्रिन्टिङ्ग उद्योग लगायतका बैकिङ्ग क्षेत्रसँग सम्बन्धित समस्याहरुले पनि थप अवरोधहरु उत्पन्न भइरहेको र सोको निराकरणका लागि सरोकारवालाहरु गम्भीर हुनु पर्नेमा जोड दिएका थिए ।
सावतीका प्रकाश घिमिरेले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नु भएको थियो ।
|