|
वीउवासङ्घसँग एलडिओ दिलीप चापागाईंसँग भेटघाट |
|
वीरगञ्ज, २३ आषाढ/
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा जिल्ला विकास समिति पर्साका स्थानीय विकास अधिकारी दिलीप चापागाईं तथा वीउवासङ्घका पदाधिकारीबीच एक भेटघाट, परिचयात्मक तथा छलफल कार्यक्रम सम्पन्न भयो ।
सङ्घका अध्यक्ष अशोककुमार वैधको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा अध्यक्ष वैधले वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ऐतिहासिक पृष्ठभूमि बारे जानकारी गराउँदै सङ्घले उद्योग व्यापारको विकास सँगसँगै सामाजिक उत्तरदायित्वको निर्वहनमा ठूलो भूमिका खर्चेको कुरा उल्लेख गर्नुभयो । उहाँले यस क्षेत्रमा मुलुककै ठूलो औद्योगिक लगानी रहेको छ भने व्यावसायिक कारोबार पनि अन्य शहरको तुलनामा यहाँबाट बढी हुने गरेको र राष्ट्रिय राजस्वमा झण्डै ५० प्रतिशतको योगदान यहीबाट हुने गरेको तर पनि समग्र पर्साको कुरा गर्दा विकासको सूचकांकमा पर्सा जिल्ला ४३–४४औं स्थानमा परेको कुरा स्थानीय विकास अधिकारी समक्ष राख्नुभयो ।
छलफलको क्रममा कृषि थोक बजारको सञ्चालन गरिनुपर्ने, वीरगञ्ज—पथलैया क्षेत्रमा रहेको त्रिभुवन राजपथका ६ कि.मि. दायाँ बायाँ क्षेत्रमा पिच सडकको निर्माण गरिनुपर्ने तथा ८२ वटै गाविसलाई जोड्ने सहायक मार्गहरुको स्तरोन्नति गरिनुपर्ने लगातका विषयमा सङ्घका बरिष्ठ उपाध्यक्ष प्रदीपकुमार केडिया, उपाध्यक्ष ओमप्रकाश शर्मा, सुवोधकुमार गुप्ता लगायत सङ्घका पदाधिकारीहरुले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
छलफलमा उठेका कुराहरुमा जोड दिँदै स्थानीय विकास अधिकारी चापागाईंले ग्रामीण अर्थतन्त्रको विकासका सम्भावना र चुनौतीलाई पहिचान गरि कृषि क्षेत्रलाई औद्योगिकरण तथा पूँजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको समृद्धि उद्योगको विकासमा निर्भर हुने भएकोले औद्योगिकरण वर्तमानको आवश्यकता रहेको बताउनुभयो । साथै पर्सा जिल्लामा विकासको प्रशस्त सम्भावना रहेको भन्दै यस क्षेत्रको विकासको लागि आफू सदैव तत्पर रही समन्वय तथा सहकार्य गरी विकास निर्माणको कार्य अघि बढाउने बताउनुभयो ।
सङ्घका बरिष्ठ उपाध्यक्ष श्री प्रदीपकुमार केडियाले धन्यवाद ज्ञापन गुर्नभएको सो छलफल कार्यक्रममा सङ्घका महासचिव गोपाल केडिया, सचिवद्वव रविन्द्र वरनवाल, अनिल पटवारी, सह–सचिव मनोज शर्मा लगायतको उपस्थिति रहेको थियो ।
|