|
कर तथा लेखा सम्बन्धी तालिम शुरु |
|
वीरगन्ज/ वीरगन्जका विभिन्न उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा कार्यरत लेखा कर्मचारीका लागि तीनदिने तालिम आजदेखि सुरु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ तथा जिटिजेट् परियोजनाको संयुक्त आयोजना एवं वीरगन्ज उद्योग वाणिज्य संघको संयोजनमा तालिम सुरु भएको हो ।
तालिममा बोल्दै आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत गोपीकृष्ण कोइरालाले राज्यले निर्धारण गरको करभन्दा करदाताले बढी तिर्न नपरोस् र जरिवानाबाट पनि बच्न सकियोस् भन्ने उद्देश्यले कर सम्बन्धी तालिमको आयोजना गरिएको बताए ।
वीरगन्जमा उद्योग व्यावसाय गर्ने धेरै रहेपनि सोही अनुपातमा लेखामा कार्यरत कर्मचारीको तालिममा उपस्थिति नभएकोमा कोइरालाले चिन्ता ब्यक्त गरे । उनले तीनदिन सम्म चल्ने तालिममा सिकेका कुरालाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न तालिममा सहभागीसँग आग्रह गरे ।
तालिममका प्रमुख प्रशिक्षक एवं वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट अरुण रावतले करबाट उद्योगी व्यवसायीले दुःख नपाउन् र करको बारेमा जानकारी नभएर जरिवाना तिर्नबाट जोगिउन् भन्ने नै तालिमको मुख्य उद्देश्य रहेको बताए ।
अहिले प्रविधिको विकासले राज्यमा विधि स्थापित गर्न सहयोग पुगेको भन्दै यसलाई सदुपयोग गर्नुपर्नेमा रावतले जोड दिए ।
वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गणेश लाठले लेखाको आफ्नै जटिलता हुने भएकोले त्यसलाई सहज तरिकाबाट कसरी करको बारेमा जानकारी लिन सकिन्छ त्यतातिर ध्यान दिन तालिममा सहभागीलाई सुझाव दिए ।
वीरगन्ज उद्योग वाणिज्य संघका प्रशासकीय अधिकृत मनोज उपाध्यायको सहजीकरणमा भएको कार्यक्रममा धन्यवाद ज्ञापन वीरगन्ज उद्योग वाणिज्य संघका सचिव माधव राजपालले गरेका थिए ।
|