|
वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न |
|
वीरगञ्ज, १३ असार/
वातावरण विभाग, काठमाण्डौं र वीरगञ्ज उद्योग वाणिज्य सङ्घ (वीउवासङ्घ) को संयुक्त आयोजनामा आज सङ्घकै सभाकक्षमा वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रियाको आयोजना गरियो ।
वीउवासङ्घका अध्यक्ष ओमप्रकाश शर्माको सभापतित्वमा आयोजित कार्यक्रममा अध्यक्ष शर्माले वातावरण जस्तो महत्वपूर्ण विषयमा सबैजना सचेत हुनुपर्ने बताउदै वस्ती विकास र पूर्वाधार विकासको नाममा वन जंगलहरु फडानीको क्रम नरोकिएको भन्दै वातावरण प्रदूषण गरेर आफ्नै खुट्टामा बञ्चरो हान्ने काम भएको बताए । उनले वातावरण जोगाउनका लागि वृक्षरोपण अपरिहार्य रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले स्थानीय सरकारको रुपमा रहेको महानगरपालिकाले वातावरण संरक्षणका लागि औद्योगिक प्रतिष्ठानहरुको खाली जग्गामा अनिवार्य रुख रोप्नुपर्ने र त्यसको लागि महानगरले प्रोत्साहनको व्यवस्था गर्ने बताउँदै जग्गा खाली राख्नेलाई स्थानीय सरकारले दुई सय प्रतिशत सम्म कर लिने व्यवस्था गर्ने बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रदूषण नियन्त्रणका कानूनी प्रावधानहरुको बारेमा वातावरण विभागका वातावरण निरीक्षक निर्मल चौधरीले वातावरण संरक्षण ऐन, नियमको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यस्तै प्रदूषणको स्रोत, असर प्रभाव तथा न्यूनिकरणको विषयमा वन तथा वातावरण मन्त्रालय वातावरण विभागका रसायनविद् केशव पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । वातावरण विभागका उपसचिव (प्राविधिक) बुद्धिराज घिमिरेले वातावरण विभागको बारेमा परिचय दिएका थिए ।
वीउवासङ्घका मनोज उपाध्यायले सहजीकरण गर्नु भएको कार्यक्रममा जिल्ला वन अधिकृत राजेश्वमान श्रेष्ठ, श्रम कार्यालय, पर्सा, वीरगन्जका प्रमुख राधेश्याम झा, वीउवासङ्घका सचिवद्वय माधव राजपाल र मनोज दास, सह–सचिवद्वय आशीष लाठ र प्रेमचन्द्र गोयल लगायत पर्सा, बाराका औद्योगिक प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
|