उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट
PDF Print E-mail
alt १० कात्तिक, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीले राज्यले उद्योगी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेको बताएका छन् । आफूहरुलाई अझै चोर र राजश्वमाराको रुपमा मात्र हेरेको गुनासो उनीहरुको छ ।

कांग्रेसको आर्थिक नीति बनाउन गठित टोलीसँग शनिबार भएको छलफलमा वीरगञ्जका उद्योगी व्यवसायीहरुले विगतमा राज्यको नेतृत्व सम्हालेकाहरुले सही नीति अख्तियार गर्न नसकेकै कारण आर्थिक विकासमा फड्को मार्न नसकेको बताएका छन् । मुलुक आर्थिक विकासमा पछि पर्नुको जसअपजसको भागीदार लामो समयसम्म नेतृत्वमा बसेको कांग्रेसले लिनुपर्ने उनीहरुले बताए ।

व्यापार घाटा बढ्नु, विदेशी लगानी भित्रन नसक्नु, नेपालको उद्योग धन्दाहरु धरासायी हुनुमा राज्यको नीति पनि कारक तत्व भएको बताएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य हरि गौतमले श्रम नीति बनाउँदा मजदुरहरुको आँखाबाट मात्रै हेरिएको गुनसो गरे । उनले भने, ‘नयाँ श्रम ऐनका कारण उद्योगीहरु जेल जानुपर्ने अवस्था आएको छ । घर खेत बेचेर उद्योग धन्दा खोलेर जेल जानुपर्ने अवस्था आउँछ भने कसले लगानी गर्छ ?’

ढुक्कले लगानी गरेर प्रतिफल लिनसक्ने वातावरण बनाउनुका साथै राजश्व छली लगायतका नाममा राज्यबाट हुने ‘आतंक’ समेत बन्द गर्नुपर्ने उनको धारणा थियो ।

प्राध्यापक ईन्दु शंकर मिश्रले सरकार र निजी क्षेत्र समन्वयात्मक ढंगले अघि बढ्न सके मात्रै आर्थिक विकास संभव रहेको बताए । परनिर्भरतालाई घटाउन कृषिमा आधारित उद्योगलाई प्राथमिकता दिन, स्रोतको सही व्यवस्थापन गर्न, घरेलु बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न, शिक्षण संस्थाबाट जोखिम मोल्न सक्ने जनशक्ति उत्पादन हुने वातावरण बनाउनु पर्ने उनको जोड छ ।

उद्योग वाणिज्य संघका सचिव माधव राजपालले दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा नीति चाहिएको बताए । ‘सिमेन्ट उद्योगका कच्चापदार्थ रक्सौलमा खसाएर नेपाल ल्याउनुपर्ने अवस्था छ । फलामे उद्योगका कच्चापदार्थ सडक मार्ग हुँदै ल्याउँदा लागत बढी लाग्छ’ उनले भने, ‘रेल सेवालाई विस्तार गरेर कच्चा पदार्थ नेपालमै ल्याउन सक्ने अवस्था हुनुपर्छ ।’

नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष सु्वोध गुप्ताले कच्चा पदार्थ स्वदेशमै उत्पादन हुने उद्योगलाई विशेष व्यवस्था हुने नीति अहिलेको आवश्यकता भएको बताए । ‘हामी आँटा मैदा मिलको कुरा गर्छौं, गहुँ छैन, चामल उद्योगका लागि धन अनि तेल उद्योगका लागि तोरी छैन’ उनले भने, ‘किसानलाई अनुदान दिएर भएपनि यस्ता कच्चापदार्थ मुलुकमा प्रयाप्त मात्रामा उत्पादन गर्न सक्नुपर्छ । त्यसका लागि सोही अनुसारको नीति हुनुपर्छ ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले स्थानीय स्तरमा उद्योगमैत्री वातावरण नबनेसम्म विदेशी लगानी भित्र्याउन नसकिने बताए । ‘एउटा ब्रिटानिया आएर उद्योग लगाउन पाएको छैन, ४ जना नेता पुगेर कार्यकर्तालाई जागिर लगाइदिन भन्छन्’ उनले भने, ‘विदेशी कम्पनीको ट्रेड मार्कलाई दर्ता गरेर राखेका हुन्छन्, अनि मुद्धा हाल्न थाल्छन् । उद्योग स्थापना भएपछि बसेका वस्तीका मासिसहरुले हैरानी दिन्छन् । अनि कसरी विदेशी लगानी आउँछ ?’

उनले नेपाली लगानीकर्ताहरु समेत विदेशतिर पलायन भइरहेको बताउँदै औद्योगिक वातावरण निर्माण गर्न नसकेको अवस्थामा यसले निरन्तरता पाउने बताए ।

कार्यक्रममा कांग्रेस सहमहामन्त्री एवं समितिका संयोजक डा. प्रकाशसरण महतले उत्पादन बढाउने र त्यसको समानुपातिक वितरण गर्ने नीति कांग्रेसको रहेको बताए । ‘उत्पादनको नेतृत्व निजी क्षेत्रले गर्छ, त्यसको न्यायोचित वितरणको नेतृत्व राज्यले लिन्छ, एउटा उद्योगको स्थापना गर्नका लागि राजनीतिक नेतृत्वको ढोका घच्घचाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ र स्पष्ट नीति नियमको आधारमा उद्योग धन्दाको स्थापना हुनुपर्छ’ उनले भने ‘व्यापार घाटा घटाउने उद्योग धन्दा राज्यको प्राथमिकतामा हुनुपर्छ, स्वदेशकै स्रोत साधनबाट जे गर्न सकिन्छ, त्यो उद्योगी व्यवसायीहरुको पनि प्राथमिकतामा पर्नुपर्छ । राज्यले आवश्यक सहयोग गर्नुपर्छ ।’

राज्यले लिने गलत नीतिको कूटनीतिक रुपमा विरोध गर्न सक्ने सामथ्र्य उद्योगी व्यवसायीमा हुनु पर्ने उनले बताए । कार्यक्रममा कांग्रेस नेता एनपी साउद, गोविन्द भट्टराई, धनराज गुरुङ लगायतले समेत धारणा राखेका थिए ।

सौजन्यः onlinekhabar