भंसार महानिर्देशक कमलप्रसाद भट्टराईसँग वीउवासङ्घको भेटघाट
Print
alt वीरगञ्ज, ८ फाल्गुन/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा एक शिष्टमण्डलले भंसार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईसँग उहाँकै कार्यकक्षमा भेटघाट गरेको छ ।

भेटघाटका क्रममा वीउवासङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले नेपालमा केही वस्तुहरुको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने गरी नेपाल राष्ट्र बैंकबाट जारी परिपत्रका कारण भन्सार जाँचपास हुन नसकी वीरगञ्ज भंसार, कोलकाता र विशाखापटनम बन्दरगाहमा ४÷५ हजार कन्टेनरहरु थन्केकोले परिपत्र प्रकाशित मितिबाट अघि सिपमेन्ट भई सकेका मालवस्तुहरु पुरानै प्रावधान बमोजिम भंसार जाँचपास गरी नेपाल भित्रयाउने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । साथै नेपाल राष्ट्र बैंकले नेपालमा आयात हुने ४७ वटा संकेत नम्बरका वस्तुहरुको आयातमा १०० प्रतिशत र ५० प्रतिशत मार्जिन राखेर मात्र आयात गर्ने प्रावधान लागु गरेकोमा आपत्ति जनाउनु भयो । साथै ४७ वटा संकेत नम्बरका वस्तुहरुमा विलासिताका वस्तुहरुलाई किटान गरी बाँकी रहेका वस्तुहरुको हकमा सुधार गर्नुपर्ने महानिर्देशक भट्टराईलाई सुझाव दिनुभयो । शतप्रतिशत मार्जिन राखेर साना आयातकर्ताहरुलाई सानो सानो रकम तिरेर वस्तुहरु आयात गर्न कठिनाई भइरहेकोले आपूर्ति व्यवस्था समेत असहज र असन्तुलित भइरहेको बताउनुभयो ।

सङ्घका अध्यक्ष डा. गुप्ताले भंसार राजस्व भुक्तानी विद्युतीय माध्यम गर्ने प्रावधान ल्याएको स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले राजस्व भुक्तानीको लागि तत्काल विद्युतीय माध्यम र म्यानुअल सँगसँगै लग्ने र ६ महिना वा एक वर्ष पछि मात्रै म्यानुअललाई विस्थापित गर्दै जानुपर्ने सुझाव दिनुभयो । त्यसैगरी सिमेन्ट उद्योगका लागि चाहिने मुख्य कच्चा पदार्थ क्लिंकर र फ्लाई ऐस आयात गर्दा भंसार जाँचपासमा भारतीय पक्षबाट कुनै किसिमको शुल्क दस्तुर नलगाइएकोमा नेपाली पक्षबाट प्रति हजार टनको हिसाबले शुल्क लिने गरेको जसले गर्दा सिमेन्ट उद्योगहरुले आफ्नो उत्पादन आमजनतालाई सस्तो दरमा सिमेन्ट उपलब्ध गराउन नसकिरहेकोले यस तर्फ पनि विचार गर्न आग्रह गर्नुभयो ।

आयातमा सम्बन्धित बैंकले मार्जिन डिपोजिट वापत अग्रिम भुक्तानी सरह आयातकर्ताको खाताबाट दश प्रतिशत रकम रोक्का राख्ने वा कट्टा गर्दै आएका छन् । बैंकहरुले भन्सार राजस्व भुक्तानी सम्बन्धी चेक जारी नगरे पनि बैंकहरुले १० प्रतिशत मार्जिन रकम भनी आयातकर्ताको खाताबाट कट्टा गर्ने वा खातामा रोक्का राख्ने गरिएकोमा आपत्ति जनाउँदै सो परिपाटीलाई अन्त गर्नुपर्ने डा. गुप्ताले बताउनुभयो ।

डा. गुप्ताले वीरगञ्ज भन्सार, आईसिपी, आईसिडीमा एम्बुलेन्स, फायर ब्रिगेड, वाईफाई जोन, सुरक्षाको व्यवस्थाका साथै यी स्थानहरुको सौन्दर्यीकरणमा समेत ध्यान दिन सुझाव दिनु भएको थियो ।

भंसार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले निजीक्षेत्रको माग र गुनासोलाई सक्दो चाँडो सम्बोधन गर्ने र नीतिगत समस्याका हकमा भने आवश्यक गृहकार्य गरी संशोधन र परिमार्जन गर्ने तर्फ प्रभावकारी भूमिका भंसार विभागले निर्वहन गर्ने बताउनुभयो । वीउवासङ्घबाट प्रस्तुत भंसार सम्बन्धी सुझावहरुलाई सकारात्मक रुपमा लिएको भंसार सम्बन्धी आगामी नीतिगत परिपत्रमा समावेश गर्ने आश्वासन दिनुभयो ।

भेटघाटका क्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष हरि गौतम, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायतको उपस्थिति रहेको थियो ।