बजेट सम्बन्धी सुझाव सम्बन्धमा
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले मधेश प्रदेश, जनकपुरधामस्थित नीति तथा योजना आयोगका उपाध्यक्षज्यूलाई वहाँकै कार्यकक्षमा भेटी, आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण प्रक्रियामा समावेश गर्नुपर्ने विभिन्न महत्वपूर्ण सुझावहरू प्रस्तुत गर्नुभएको छ।
उहाँले सुझावस्वरूप वीरगञ्ज उद्योग वाणिज्य सङ्घको स्वामित्वमा रहेको १८ कठ्ठा क्षेत्रफलको जग्गामा सुविधा सम्पन्न प्रादेशिक औद्योगिक तथा कृषि प्रदर्शनी स्थल निर्माण गर्न रु. १० करोडको बजेट विनियोजन गर्न आग्रह गर्नुभयो। त्यसैगरी, वीरगञ्ज तथा वरपरका औद्योगिक प्रतिष्ठानहरूलाई एकीकृत गर्दै, जिल्ला प्रहरी कार्यालय पर्साको कन्ट्रोलमा राखिने गरी सीसी क्यामेरा नेटवर्क स्थापना गर्न रु. ३ करोडको बजेट व्यवस्था आवश्यक भएको उल्लेख गर्नुभयो।
साथै, वीरगञ्जमा सुविधा सम्पन्न थोक कृषि बजार स्थापनाका लागि बजेट सुनिश्चित गर्न, सिर्सिया नदीको प्रदूषण नियन्त्रण गर्दै उक्त क्षेत्रलाई औद्योगिक कोरिडोरको रूपमा विकास गर्न, र मधेश प्रदेशमा विद्युत आपूर्तिको समस्या समाधान गर्न संघीय सरकार, प्रदेश सरकार तथा निजी क्षेत्र र स्थानीय सरकारबीच समन्वय गरी सौर्य उर्जा (Solar Plant) स्थापना कार्यक्रम अघि बढाउनुपर्ने विषयमा जोड दिनुभयो।
उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेश प्रदेशका अध्यक्ष श्री अशोककुमार टेमानी, बारा उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री राजकुमार साह, साथै विभिन्न उद्योगपति तथा व्यवसायीज्यूहरूको उपस्थिति रहेको थियो।