Home ChamberNews
ChamberNews
1/2/2024 12:00:00 AM
वीरगन्ज– उद्यमशीलताको प्रचुर सम्भावना भएको मधेस प्रदेशमा बजारको समस्याले उद्यमशीलताको विकास हुन नसकेको उद्यमीहरूले गुनासो गरेका छन् । जनसंख्यामा ठूलो प्रदेश भएकाले जनशक्तिको पनि अभाव नहुने मधेस प्रदेशमा उद्याशीलताको विकास भए पनि बजारको समस्याले उद्यम फस्टाउन नसकेको बताएका हुन् ।
मधेस प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको सहयोगमा हेल्भीटास नेपालले उद्यम विकास तथा आर्थिक विकासका लागि भएका प्रयासको बारेमा आयोजना गरेको अनुभव आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागी उद्यमीले उद्यम विकासमा व्यक्तिगत रूपमा लागेको भए पनि राज्यको तर्फबाट त्यसमा कुनै सहुलियत र स्पष्ट नीति नहुँदा उद्यमशीलतामा लागेकाहरू पनि निराश हुँदै गएको बताएका छन् ।
२५ वर्षदेखि माहुरी पालन गर्दै आइरहेका सर्लाहीका हेमराज देवकोटाले राज्यले मधेस प्रदेशको कोशीदेखि ठोरीसम्मको भूभागबाट अमृत बगेर खेर गइरहेको भए पनि त्यसलाई राज्यले चिन्न नसकेको गुनासो गरे । उनले नेपालका जंगलमा पाइने जडिबुटीबाट माहुरीपालन गरी प्रशस्त मह उत्पादन गरेर आर्थिक उपार्जन गर्न सकिने भए पनि त्यसको व्यवसायीकरण र बजारीकरणका लागि समस्या हुने गरेको बताए । उनले व्यावसायिक माहुरी पालन गर्ने कृषकका लागि माहुरी उत्पादन केन्द्र र मह भण्डारणका लागि मह चिस्यान केन्द्रको स्थापना राज्यले गरिदिए एक हजार युवाले रोजगारी पाउन सक्ने दाबी गरे ।
हेल्भीटासका टिम लिडर हरि गुरुङले हेल्भीटासले हालसम्म गरेका गतिविधि प्रस्तुत गर्दै स्थानीय स्रोतमा आधारित उद्यम व्यवसाय प्रर्वद्धन गरी रोजगारी सृजना गर्नका लागि अध्ययन, अनुसन्धान, नमुना अभ्यास गरी उपयुक्त ठहरिएका व्यवसायमा निजी क्षेत्रको लगानी र व्यापार अनुकूलन व्यवस्था निर्माण गरी निजी क्षेत्रसँग वकालत गर्ने काम गरेको जानकारी गराए ।
उनका अनुसार सातवटा प्रदेशका २९२ पालिकामा विभिन्न आयमूलक उद्यमशीलताका कार्यक्रम सञ्चालनमा छन् । पछिल्लो समयमा गरिबी निवारणका लागि भूमिहीन गरिब विपन्नका लागि हेल्भीटासले ल्याएको बगरखेती कार्यक्रम उपयुक्त प्रविधि रहेको टिम लिडर गुरुङले बताए । हेल्भीटासले १७ वटा जिल्लामा बगरखेतीको अभ्यास सुरु गरिएको र २१ जिल्लामा नदीखोलाको नक्शांकन गर्दा ७८ हजार हेक्टर बगर अर्थात् एक लाख १५ हजार ५१२ बिघा क्षेत्रफल खरबुजा खेतीका लागि सम्भाव्यता भएको क्षेत्र रहेको बताए ।
उनका अनुसार २०१९ देखि २०२३ सम्ममा १० पालिकाले झण्डै दुई करोड बगर खेतीमा लगानी गरेका छन् । जलवायु परिवर्तनका कारण हुने भुक्षय र नदी कटानले खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएकाले बगरखेतीको अभ्यास गरेमा त्यसबाट राम्रो आम्दानी लिन सकिने हेल्भीटासको अध्ययनले देखाएको र बगरखेतीको विषयमा कृषि विश्वविद्यालयले पाठ्यक्रममा नै समावेश गर्नुपर्ने सुझाव दिए ।
मधेस प्रदेशको खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका वरिष्ठ कृषि प्रसार अधिकृत रोशन मेहेताले अहिले देशभर सरकारी जनशक्तिको अभाव रहेको बताउँदै कृषि र प्रशोधन उद्योगमा नै कृषि मन्त्रालय केन्द्रित रहेको बताए । उनले दूध र माछामा मधेस प्रदेश आत्मनिर्भर उन्मुख रहेको बताउँदै हेल्भीटासको प्राविधिक सहयोग र जनशक्ति परिचालनमा सहयोग र राज्यले गरेको लगानी पनि प्रभावकारी हुने बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष हरि गौतमले राज्यले उद्योग र व्यवसायका लागि केही पनि गर्न नसकेको गुनासो गरे । उनले उद्यमशीलतामा धेरै सम्भावना र अवसर रहे पनि राज्यको संरक्षण र उद्यममैत्री नीति नहुँदा समस्या हुने गरेको बताए । सहभागीहरूको गुनासो सुनेपछि मधेस प्रदेश उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले देशमा खेर गइरहेको स्रोत परिचालनका लागि तीनवटै तहका सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।
उनले जल, जमिन, जंगल र जवानी त्यसै खेर गइरहेकोले यसको उचित परिचालनका लागि आवश्यक नीति निर्माण गर्नेतर्फ पहल गर्ने बताए । उनले अहिले उद्यमी र कृषकको मनोबल गिरेको अवस्थामा हेल्भीटास संस्थाले आमाको जस्तो भूमिका निर्वाह गरेर उद्यमशीलताका लागि प्रोत्साहन र उर्जा थप्ने काम गरेको भन्दै प्रशंसा गरे । राज्यमन्त्री अन्सारीले उद्यमशीलताको विकासका लागि उपभोक्ता सचेतना महत्वपूर्ण रहेको बताए । अहिलेको युग सूचना र प्रविधिको युग भएकाले युग सुहाउँदो लक्षित खेती र उत्पादनको बजारीकरणमा उपभोक्तामा सचेतना जगाउन आश्यकता रहेको औंल्याए ।