एकदिने बृहत् रोजगार मेला"
अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को सहयोग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ-मधेश प्रदेश र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजना र वीरगंज महानगरपालिका, नेपाली युवा उद्यमी मञ्च-वीरगंज च्याप्टर र एच.आर. सोसाइटीको सहकार्यमामा बीरगञ्जस्थित होटल भिषुवामा "एकदिने बृहत् रोजगार मेला" वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरि गौतमज्यूको अध्यक्षता र मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री माननीय कनिश कुमार पटेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री माननीय कनिश कुमार पटेलज्यूले बेरोजगार युवा–युवतीलाई रोजगारीसँग जोड्न, उनीहरूको सीप तथा क्षमताको सदुपयोग गर्न र निजी क्षेत्रसँगको सहकार्यलाई सुदृढ बनाउन यस्ता रोजगार मेलाहरू प्रभावकारी माध्यम बन्ने बताउनुभयो । उहाँले सरकारले रोजगारी प्रवर्द्धन, उद्यमशीलता विकास तथा निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा राखेर आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री दिलसुन्दर श्रेष्ठज्यूले यस्ता रोजगार मेलाले रोजगारदाता र रोजगारी खोज्ने युवाबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी दक्ष जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रले रोजगारी सिर्जनामा निर्वाह गरिरहेको भूमिकालाई अझ सुदृढ बनाउन सबै सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले रोजगार मेला केवल रोजगारी खोज्ने र दिने पक्षबीचको भेटघाटमा मात्र सीमित नभई दक्ष जनशक्ति र उद्योग–व्यवसायबीचको प्रभावकारी सेतुका रूपमा रहेको बताउनुभयो । उहाँले उद्योग, व्यवसाय तथा श्रम बजारको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।
रोजगार मेला संयोजक श्री अनुप अग्रवालले रोजगार मेलाले रोजगारददाता र रोजगारीको अवसर खोज्नेहरूको लागि कोशेढुंगा सावित होस् भन्ने उद्देश्यले आयोजना गरिएको बताउनुहुँदै उहाँले आगामी दिनहरूमा अझ गहन रूपले आयोजना गरिने बताउनुभयो ।
उक्त रोजगार मेलामा विभिन्न क्षेत्रका २५ भन्दा बढी प्रतिष्ठित कम्पनी तथा संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो । मेलामा सहभागी संस्थाहरूले आफ्ना रिक्त पदका लागि योग्य जनशक्ति छनोट गर्न अन्तर्वार्ता तथा प्रारम्भिक मूल्याङ्कनसमेत गरेका थिए ।
त्यसैगरी, रोजगार मेलामा रोजगारीको अवसर खोजिरहेका ५०० भन्दा बढी युवा–युवतीहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले आफ्नो योग्यता, अनुभव तथा रुचिअनुसार विभिन्न कम्पनीहरूमा आवेदन दर्ता गर्नुका साथै रोजगारदातासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्राप्त गरेका थिए ।
उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीज्यू र कार्यसमितिज्यूहरूको साथै अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ-मधेश प्रदेश, वीरगंज महानगरपालिका, नेपाली युवा उद्यमी मञ्च-वीरगंज च्याप्टर र एच.आर. सोसाइटीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालले धन्यवाद ज्ञापन गर्नुहुँदै सिंगो निजीक्षेत्रले मात्र रोजगारी सृजना गर्न नसक्ने भएकोले यसमा सबै पक्षको समान प्रयास हुनु पर्नेमा जोड दिनुभयो ।