PressRelease

1/9/2023 12:00:00 AM

मेडिकल व्यवसायी दुर्गा प्रसाईको अभिव्यक्तिप्रति सङ्घको आपत्ति

निरन्तर संकुचित हुँदै गइरहेको आन्तरिक व्यापार, खस्किँदो औद्योगिक उत्पादन, बढ्दो बेरोजगारी, अपारदर्शी शुल्कहरु, अनुदार भंसार तथा कर, राजस्वका दरहरु, प्रक्रियागत प्रशासनिक जटिलता र पाइलै पिच्छे नियामक निकायहरुद्वारा सृजित अवरोधको बाहुल्यता लगायतका अनेकानेक बाधा व्यवधानहरु प्रत्येक दिन नेपाली निजी क्षेत्रले सामना गरिरहेका दुःखद यथार्थ छन् । 
यस विषम पृष्ठभूमिमा पनि जेनतेन नेपाली निजी क्षेत्रले आ–आफ्ना उद्योग, व्यापार, व्यवसाय सञ्चालन गरी राज्यलाई कर तथा राजस्व बुझाउँदै नेपाली अर्थतन्त्रलाई उकास्दै आएका छन् । यस्तो प्रतिकूल परिस्थितिमा राज्यले व्यापार व्यवसायलाई संरक्षण र सम्बद्र्धन गर्ने कुरालाई आफ्नो प्राथमिकतामा राखी नयाँ नयाँ प्याकेज मार्फत् व्यापार व्यवसायलाई राहत दिनु पर्नेमा सोको विपरीत पछिल्ला केही दिनदेखि राजस्व अनुसन्धान विभागबाट नै टोली आई वीरगञ्ज लगायत पर्सा, बारा क्षेत्रका औद्योगिक एवम् व्यापारिक प्रतिष्ठानहरुमा अनुसन्धानको नाममा भइरहेको छापामारीले उद्योगी, व्यवसायीहरु त्रसित छन् । यस तर्फ सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । 


हामी अवैध व्यापारका पक्षपाती होइनौं । अवैध व्यापारको निरुत्साहन र वैध व्यापारको प्रोत्साहन हुनुपर्दछ र राजस्व चुहावट नियन्त्रणको लागि अनुसन्धान हुनु पर्दछ भन्ने सङ्घको मान्यता रहेको छ । तर राजस्व अनुसन्धानको नाममा उद्योगी, व्यवसायीहरुलाई त्रसित पार्ने गरी यस क्षेत्रलाई नै लक्षित गरी एक पछि अर्को औद्योगिक एवम् व्यापारिक फर्महरुमा छापामारी कागजातहरु कब्जामा लिई विभागमा सम्पर्क गर्न निर्देशन दिँदै हिँडेका कारण उद्योगी व्यवसायीहरु माँझ त्रासको वातावरण निर्माण भएको छ । 


राजस्वमा आएको गिरावटलाई सामयिक व्याख्या गर्दै यसको मूल कारणहरु मध्ये भंसारको मूल्यांकन पद्धति पनि रहेकोले यस्तो अपारदर्शी र अवैज्ञानिक मूल्यांकन पद्धतिलाई परिमार्जन गरी देशमा व्याप्त रहेको मन्दीबाट माथि उकास्न निजी क्षेत्र र राज्यको सहकार्य हुनुपर्नेमा राज्यले निजी क्षेत्रलाई लक्षित गरी राजस्व अभिवृद्धिका नाउँमा गरिरहेको छापामारीलाई अविलम्ब बन्द गरिनुपर्ने तर्फ यसै विज्ञप्ति मार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।